मातृभूमि नेपालको काखमा बसी पारिलो घाम ताप्दै म नेपाली हुन पाएकोमा गर्व गर्छु । नेपाल सार्वभौमसत्ता, अखण्डता, प्राकृतिक विविधताले भरिएको मुलुक हो । यहाँ नेपाली आमाका वीर सन्तानहरु छन् । मेरो देश मेरो गौरव हो । यस देशलाई शान्तिको देश भनेर पनि चिनिन्छ ।
मेरो देशलाई गौतम बुद्धको देश, सगरमाथाको देश भनेर पनि चिनिन्छ । मलाई कता कता लाग्छ कि मैले मेरो देशको गौरव बढाउन के काम गरें त ? वीर पुर्खाको देश, स्वाभिमानी, प्राकृतिक सम्पदाले भरिपूर्ण देशमा जन्मेर, हुर्केर बाँच्न पाउँदा मलाई गर्व लाग्छ । हाम्रा वीर पुर्खाहरुले आफ्नो रगत बगाएर बनाएको देश हो नेपाल । मेरो देशलाई वीर गोरखाली, शान्तिको देश, साँस्कृतिक रुपमा भरिपूर्ण भएको देश भनेर। चिन्दा मलाई मेरो देशप्रति गौरव लाग्छ । नेपाल विविधतामा एकता, सांस्कृतकि र संस्कारले भरिपूर्ण देश हो । यहाँको गौरव भनेको नै हिमाल, पहाड, तराई तथा पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको मानिसका रीतिरिवाज, भाषा, संस्कृति र परम्पराहरु हुन् ।
यहाँका सेता हिमाल, सधैं बगिरहने खोलानाला, वन नै ढाक्ने लालीगुराँस, पहाड, तराईको फाँट, यिनै हुन् मेरो देशको गौरव अर्थात् मेरो गौरव । यहाँ रहेका गुम्बा, मन्दिरहरु मेरो देशका गौरवका विषयहरु हुन् । मेरो देश जडीबुटी, चराचुरुङ्गी, विभिन्न जनावर, वनमा पाइने फलफुल आदिले भरिपूर्ण भएको देश हो । हरेक व्यक्तिले आफ्नो देशलाई गौरव दिलाउनका लागि केही न केही कार्य गरेका हुन्छन् । म एउटा विद्यार्थी हुँ । मैले मेरो देशलाई गौरव दिलाउनको लागि धेरै शिक्षा आर्जन गर्नुपर्छ । शिक्षा आर्जन गरेर देशकै माटोमा सदुपयोग गर्नुपर्छ । अहिलेका युवायुवतीको कर्तव्य भनेको नै देशको उन्नति र विकास गर्नु हो । जसले गर्दा अझ देशको गौरव बढ्न सक्छ । हाम्रा वीर पुर्खाहरुले सिकाएको बाटोमा हिँडेर देशलाई अर्थात् आफैंलाई गौरव दिलाउनुपर्छ ।
हरेक देशलाई गौरव गराउने आ-आफ्नै वस्तुहरु रहेका हुन्छन् । यस्ता गौरव दिलाउने सजीव र निर्जीव दुवैको हात हुन्छ । हाम्रो देशलाई पनि गौरव दिलाउने मनकामना मन्दिर, हाम्रा वीर पुर्खा, सगरमाथा, लुम्बिनी, झमक घिमिरे, सन्दुक रुइत, गौतम बुद्ध आदि महान् व्यक्ति र धार्मिक, सांस्कृतिक वस्तुहरुको ठूलो योगदान रहेको छ । कहिल्यै नझुक्ने हाम्रा मातृभूमिमा जन्मिएका वीर सन्तानहरु पनि हाम्रा अर्थात् देशको गौरव हो । मेरो देश प्राकृतिक रुपले धनी देश हो । यहाँ वर्सेनि धेरै पर्यटकहरु घुम्न आउँछन् । उनीहरु देशमा रहेको प्राकृतिक सम्पदाको आनन्द लिएर जान्छन् । उनीहरु सन्तुष्ट भएर जान्छन् ।
मेरो देश मेरो गौरव हो तर मेरो देशको गौरवमा दाग लगाउने विकृति, कुरीतिहरु पनि धेरै छन् । यहाँका मानिसहरु अन्धविश्वासी छन् । यी विकृति र कुरीतिहरुलाई जरैदेखि त उखेल्न न नसकिएला तर हटाउने कोसिस भने हामी सबैले मिलेर गर्नुपर्दछ । जब व्यक्तिले देशप्रतिको कर्तव्य पूरा गर्द्छ तब देशको गौरव बढ्छ । नेपाली भएर जन्मन पाउँदा मलाई धेरै गौरव लाग्दछ । राष्ट्रलाई गौरव गराउने एउटा महत्वपूर्ण कुरा नै हामी हौं । मेरो देशमा विदेश जस्तो आधुनिनक यन्त्रहरु भरिएको त छैन होला तर यहाँ प्राकृतिक विविधताले भरिपूर्ण छ, जुन मेरो गौरव हो ।